४. समितिको काम, कर्तव्य र अधिकारः
यस आदेशमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) अस्पतालको विकास सम्बन्धमा आवश्यक नीति, योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने वा गराउने,
(ख) समितिको बार्षिक बजेट र कार्यक्रमहरू स्वीकृत गर्ने,
(ग) अस्पतालको भौतिक सम्पतिको संरक्षण तथा मर्मत सम्भार गर्ने,
(घ) अस्पतालबाट प्रदान गरिने सेवाको सञ्चालन, सुधार र विस्तारका लागि आवश्यक पर्ने स्रोत र साधनको पहिचान तथा खोजी गर्ने,
(ङ) बहिरङ्ग तथा अन्तरङ्ग चिकित्सा सेवा, प्रयोगशाला तथा अन्य सेवा प्रदान गरे वापत शुल्क निर्धारण गर्ने,
(च) आर्थिक दृष्टिले असक्षम मानिएका विरामीको लागि निशुल्क उपचारको व्यवस्था गर्ने,
(छ) स्वास्थ्य सम्बन्धी तालीम कार्यक्रम सञ्चालन गर्ने वा गराउने,
(ज) समितिको कर्मचारीको क्षमता अभिबृद्धिको लागि विभिन्न किसिमका तालीम सञ्चालन गर्ने वा गराउने तथा कर्मचारीलाई विशेष तालीम उपलव्ध गराउन मन्त्रालय समक्ष सिफारिस गर्ने,
(झ) समितिको कार्य सञ्चालनको लागि आवश्यकता अनुसार उपसमिति वा कार्यटोली गठन गरी त्यस्तो उपसमिति वा कार्यटोलीको काम, कर्तव्य र अधिकार तथा कार्यविधि तोक्ने,
(ञ) समितिको उद्देश्य प्राप्तिको लागि आवश्यक पर्ने अन्य कार्य गर्ने वा गराउने ।